२५ हजार संक्रमित भए लकडाउनमा जानुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने जनाएको छ। यसअघि मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सकिने गरी सरकारलाई सिफारिस गरेको थियो।

बुधबार ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगुन्जेल संक्रमितको उपचार व्यवस्थापन गर्न सकिने भन्दै त्योभन्दा बढी संख्या भए लकडाउनमा जानुपर्ने बताउँदै आएको थियो।

तर मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले नै लकडाउनमा जानुपर्ने स्थिति नआएको दाबी गरेका छन्। उनले अस्पतालमा संक्रमितको उपचारका लागि बेड अभाव नहुन्जेल लकडाउन नहुने जनाए।’मान्छेलाई बेड नै नभएर भुइँमा राख्नुपर्ने स्थिति आयो भने मात्र लकडाउन हुन्छ,’ उनले भने।

प्रवक्ता गौतमले पछिल्लो समय भने काठमाडौं उपत्यकाका अस्पतालहरूमा बेडको अभाव हुन थालेको बताएका छन्।उनले यहीँ स्थितिमा संक्रमण दर बढे अस्पतालहरूले भार थाम्न नसक्ने पनि जनाए।