कार्यविधिअनुसार अस्पतालहरूलाई अक्सिजन वितरण गरिने

२९ बैशाख, काठमाडौं । सरकारले मेडिकल अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको छ ।

कोभिड–१९ का बिरामीलाई उपचार गर्न अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ जारी गरेको हो ।

यही कार्यविधिअनुसार अस्पतालहरूलाई अक्सिजन वितरण गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अस्पतालहरूको माग, क्षमता र अवस्था हेरेर अक्सिजन वितरण गरिनेछ ।

स्वास्थ्य मन्त्रालयबाट वितरण हुँदै आएको अक्सिजन अब सीसीएमसीले तोकेअनुसार वितरण गर्ने व्यवस्था कार्यविधिमा छ । बजारको माग थेग्नेगरी अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरूको अनुगमन शुरू गरिसकेको र सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिसकेको सिंहदरबारमा मंगलवार बसेको सीसीएमसीको बैठकमा सचिव खगराज बरालले जानकारी दिए ।

अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयासबारे बैठकमा जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै नौओटै ग्यास उद्योगहरूको अनुगमन गरी विवरण संकलन गरिएको बताए ।