स्ट्रबेरी उत्पादनका लागि नुवाकोट प्रख्यात

नरेन्द्र रौले ,नुवाकोट । मकै र मुला उत्पादनका लागि नुवाकोट प्रख्यात छ । त्यसमा पनि खानीखोलीदेखि काउलेथाना, चित्रे, ककनीमा अत्यधिक उत्पादन हुन्थ्यो । ९ महिनासम्म मकै फल्थ्यो । सिजनमा ठूलो अनुपातमा मुलाको उत्पादन पनि हुन्थ्यो ।

अहिले नुवाकोटका किसानहरू स्ट्रबेरीतिर आकर्षित हुन थालेका छन् । खानीखोलीदेखि काउलेथाना क्षेत्र विशेषगरी ‘स्ट्रबेरी जोन’ का रुपमा प्रख्यात छ । यस क्षेत्रको स्ट्रबेरीको स्वाद अन्यत्र भन्दा स्वाद मीठो र रसिलो छ । स्ट्रबेरी खेतीकै कारण नुवाकोटका गाउलेहरूको जनजीवनमा परिवर्तन आएको छ । अहिले मुला रोप्न छाडेर किसानहरु स्ट्रबेरी खेतीमा जोड दिन थालेका छन् ।

स्ट्रबेरी बेचेरै यहाँका किसान तथा उद्यमीहरूले गाडी चढ्ने, घर बनाउने, जग्गा जोड्ने हैसियत बनाएका छन् । गाउलेहरूको आम्दानीको मुख्य स्रोत नै स्ट्रबेरी खेती बनेको छ । स्ट्रबेरी फल मात्रै होइन यसबाट बन्ने जुस र यसको वाइन पनि निकै चर्चित छ । प्रतिलिटर तीन सय रुपैयाँमा वाइन र जुस बिक्री हुँदै आएको छ ।

नुवाकोट, ककनीका सन्तबहादुर तामाङ ०५५ सालदेखि स्ट्रबेरी व्यवसायमै छन् । ०५७ सालदेखी उनले स्ट्रबेरी निर्यात गर्दै आएका छन् । यसै व्यवसायमा लागेर उनले ककनीमा जग्गा जोड्न र घर बनाउन सफल भए । यसै व्यवसायको भरमा उनले ५ जनाको परिवार चलाईरहेका छन् । तामाङ जस्तै सफल किसान तथा व्यवसायीहरूको संख्या ठूलो छ ।

नेपालगञ्जका भीम बहादुर श्रेष्ठको जीवन २० वर्षदेखि स्ट्रबेरी व्यवसायमै बितिरहेको छ । स्ट्रबेरीले नै तानेर उनलाई नुवाकोटको ककनी पुर्‍यायो । यसै व्यवसायको आम्दानीबाट उनले ककनीमा १६ रोपनि जग्गा जोडेका छन् । नेपालगञ्ज स्थायी ठेगाना भएका उनी अब नुवाकोटका बासिन्दा भईके । हाल श्रेष्ठ जापानी संस्था आवर फार्मको प्रोडक्सन म्यानेजरका रुपमा काम गरिरहेका छन् ।

नुवाकोट, काउलेथानका रुम्बा राजा मकाउबाट फर्किएर स्ट्रबेरी व्यवसायमै रमाइरहेका छन् । उनले ३५ सय स्ट्रबेरीका विरुवा रोपेका छन् । एक दिन बिराएर उनको फार्ममाम ६० केजी स्ट्रबेरी उत्पादन हुँदै आएको छ । यहि अनुपातमा यसरी ६ महिनासम्म निरन्तर स्ट्रबेरी फल्छ । प्रति केजी ४ सय ५० रुपैयाँमा उनले बिक्रि गर्दै आएका छन् । दिनमै उनले २७ हजार रुपैयाँ बराबरको स्ट्रबेरी बिक्रि गर्दै आएका छन् ।

खानीखोलीदेखि चित्रे क्षेत्रमा मात्रै ५ ठाउमा स्ट्रबेरी संकलन केन्द्र छन् । सबैभन्दा ठूलो परिमाणमा ककनी गाउपालिका ४ रानीपौवाको इन्द्रदेवी स्ट्रबेरी सप्लायर्स फार्मले गरिरहेको छ । चार जनाको संयुक्त लगानीमा खुलेको यस फार्मले १३ जनालाई रोजगारी दिलाएको छ ।

दैनिक ६० हजार र मासिक ९ लाख रुपैयाँ बराबरको स्ट्रबेरी यसले उठाउँछ । ‘६ महिनामा झण्डै ८ लाख १० हजार रुपैयाँको कारोबार हुन्छ ।’ फार्मका सदस्य सन्तबहादुरले भने । किसानहरूबाट संकलन गरिएको स्ट्रबेरीलाई ग्रेडिङ गर्ने, प्याकिङ गर्ने काममा १ बजेदेखी साँझ ७ बजेसम्म उनीहरु खटिन्छन् ।

यस क्षेत्रमा उत्पादन हुने स्ट्रबेरी भाटभटेनीका सबैजसो ब्राञ्च, मार्टमा जाने गर्छ । त्यस्तै काठमाडौं, पोखरा, भैरहवा शहरमा पनि खपत हुन्छ । पहिले–पहिले भारतमा यहाँको ८० प्रतिशत स्ट्रबेरी जान्थ्यो । अहिले ५० प्रतिशत मात्र जान्छ । नेपालबाट बढी मात्रामा भारत निर्यात हुन थालेपछि भारत सरकारले नयाँ नीति अपनायो । किसानहरुलाई अनुदान दिएर भारतमै उत्पादन गर्न जोड दिएको सन्तबहादुर तामाङले बताए ।