नेकपा फुटेपटि चीन अप्ठेरोमा

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टुक्रिएर दुई टुक्रा भएपछि अहिले चीनले विशेष चासो देखाएको छ । नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि चिनियाँ राजदुतको दौडधुप कायमनै रहेको बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। सो टोली कोरोना जोेखिमका कारण पिपिई लगाएरै काठमाडौ स्थित विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। सो टोलीले यहाँ नेकपा विभाजको कारणका बारेमा सोधिखोजी गर्नेछ । त्यसका लागि विभाजन पछि दुई टुक्रा भएका नेकपाका अध्यक्षहरुसंग भेटघाट तय गरेको छ । राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको बताइएको छ ।

बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना रहेका छन्।

चिनियाँ टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले कात्तिक ५ गते काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग राती तीन घण्ट वार्ता गरेपछि अहिलेको राजनीतिक परिस्थिति विकास भएको धेरैको टिप्पणी छ। चीनले पनि सोही अनुसारको विश्लेषण गरेको छ ।

नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाएको चीन नेपालमा भएको राजनीतिक घटनाक्रमका कारण अप्ठेरोमा परेको छ ।