प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाको प्रदर्शन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध प्रदर्शन गरिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार शान्तिबाटिकाबाट सुरू भएको र्‍याली बागबजार, पुतलीसडक, भद्रकाली परिक्रमा गरी शान्तिबाटिकामा पुगेर समापन हुनेछ । र्‍यालीमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायत कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । सभालाई शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेका थिए। नेकपाको प्रचण्ड(माधव समूह, कांग्रेस र जनता समाजवादी (जसपा) ले ओलीको कदमले देशलाई गम्भीर संकटतिर धकेलेको भन्दै उनीहरुले विरोध गर्दै आएका छन् ।