मैले प्रचण्डको साथ छोडेर ओलीलाई रोजे-लेखराज भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट तत्कालिन माओवादीका तर्फवाट सरकारमा सहभागी भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसद विघटन गर्न निर्णय गरेसंगै उनका युद्धकालिन सहयात्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु ओलीको विरोधमा उत्रिएका छन् । प्रचण्ड र माधव नेपाल समुहवाट मन्त्री बनेका ७ जनाले राजिनामा समेत दिइसकेका छन् ।

तर प्रचण्डकै सहयात्री भट्टले भने ओलीको कदमको समर्थन गर्दै सरकारमा रहने निर्णय गरे । साथै ओलीले सोमवार वालुवाटारमा बोलाएको आफु निटक विघटित सांसदहरुको भेलामा पनि सहभागी भए ।

उनी ओलीसंगै रोष्टममा देखिएका थिए । उनले भेलामा सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान बसेको बैठकमा भट्टले यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्षलाई आफुले साथ दिन नसक्ने निर्णयमा पुगेर ओलीलाई साथ दिएको बताएका छन् ।उनले भने, ‘इतिहासमा अहिलेसम्मकै काम गर्ने यही सरकार हो, तर घेराबन्दी गरियो।’ मन्त्री भट्टले आफूले ओलीलाई साथ दिएको नभई सरकारलाई साथ दिएको बताए। त्यही भएर यो भेलामा आएको भट्टले बताएका थिए।

सरकारले आइतबार प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिस सदर भएको थियो। सोसँगै प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेकपाको स्थायी समितिले आइतबार नै ओलीलाई कारबाही गर्ने सिफारिस गरेको थियो।