प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई समर्थन गर्न नसकिने-बादल

काठमाडौ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय पछि पनि मौन बसेका गृहमन्त्री रामबहादुर थापा बादलले अब छिट्टै आफ्नो कित्ता क्लीयर गर्ने बताएका छन् । प्रचण्ड र माधव नेपाल समुहका ७ मन्त्रीले राजिनामा दिँदा पनि उनको राजिनामा आएको छैन । उनले प्रधानमन्त्रीको कदमका बारेमा पनि केही बोलेका छैनन् ।

प्रधानमन्त्री ओलीले ब्युताउन लागेको पूर्व नेकपा एमालेमा उनलाई सहअध्यक्ष दिने चर्चा चलेसंगै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापालाई भेट्न विहानै मन्त्री निवास पुल्चोक पुगेका थिए । ओली निकट विघटित संसदका सांसदको भेलामा पनि थापा गएनन् । बालुवाटारमा ओली निकटहरुको भेला भइरहँदा थापा निवासमा भने आफु निकटका नेताहरुको छलफलमा ब्यस्त थिए ।

नेताहरुले दिएको सुझाव र प्रचण्डंगको भेट पछि नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री थापाले पार्टीमा जारी विवादमा अब बीचमा बस्ने समय नरहेको बताएका छन्।

भेलामा सहभागी सबैजसो नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई समर्थन गर्न नसकिने र उनलाई पनि समर्थन नगर्न आग्रह गरेपछि थापा थप दबाबमा परेको बताइएको छ ।

भेलामा सहभागी थापानिकट एक नेताले आफुहरुसंग थापाले अब छिट्टै कित्ता क्लीयर गर्ने बताएको जानकारी दिए । भेलामा उपस्थित सदस्यहरुले गृहमन्त्रीबाट तत्काल राजीनामा दिन समेत सुझाब दिएका छन् । भेलामा सहभागी अधिकांश नेताहरुले थापालाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै सहकार्य गरेर अगाडि बढ्न सुझाब दिए पछि थापाको बोली फेरीएको हो ।

उक्त छलफलमा पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकास सुवेदी, मायाप्रसाद शर्मा, युवराज भराई, सुरेश आलेमगर, महेश्वर दाहाल लगायत रहेका थिए।