नेपाली समाजमा युवतीलाई अझ छिटो बिहे गर्न दबाब दिइन्छ

काठमाडौ । मंसिर लाग्नै पाएको हुँदैन बिहेको तयारी धुमधामले चलिरहेको हुन्छ । जब मंसिर सकिन्छ तब बिहेको लगन पनि सकिएको हुन्छ । यो वर्षको मंसिरमा धेरै नेपाली कलाकार विवाह बन्धनमा बाँधिएका छन् । प्रियंका कार्की र आँचल शर्माले गत वर्ष नै धुमधाम बिहे गरेका थिए । यो मंसिरमा नायिका स्वेता खड्काले पनि बिहे गरिन् ।

नेपाली समाजमा युवतीलाई अझ छिटो बिहे गर्न दबाब दिइन्छ । यसबाट कलाकार के अछूतो रहन सक्थे र ? अझ पछिल्लो समय कलाकारले भटाभट बिहे गरिरहेका बेला उमेर पुगेका नायिकाहरुलाई बिहेको दबाब नआउने कुरै भएन ।

उमेर पुगेको भन्दै बिहेको दबाब झेलि रहेकी नायिका बेनिशा हमालले आफूलाई केही वर्षयता परिवार र आफन्तबाट बिहेको दबाब झेल्नु परेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा उल्ल्खेख गरेकी छिन् – तपाईं कसैसँग सम्बन्धमा भए या नभए पनि एक महिलालाई बिहेको दबाब आउँछ । मैले पनि ३ वर्षदेखि यस्तै दबाब महसुस गरेकी छु । कहिलेकाहीँ त तनाव पनि हुन्छ ।

यसलाई कतिपयले बेनिशाले पनि बिहे गर्ने सोच बनाएको टिप्पणी गरेका छन् । कतिले भने उनलाई बिहे गर्न सुझाव समेत दिएका छन् । बेनिशा केही समययता निर्माता रौनक विक्रम कँडेलसँग प्रेम सम्बन्धमा रहेको चर्चा चल्ने गर्छ । चर्चा जो कसैसंग चलोस् तर बिहे भन्ने कुरा असल मान्छेसंग नै होस् ।