नेपालमा कोरोना विरुद्धको खोप सस्तो पाइने सम्भावना

काठमाडौं । विश्वका अन्य मुलुकको तुलनामा नेपालमा कोरोना विरुद्धको खोप सस्तो पाइने सम्भावना बढेको छ । नेपाल र भारतमा संक्रमितको अवस्था र लक्षण एउटै भएकाले नेपालले भारतमा बनेको खोप लिने तयारी थालेको छ । भारतमा बनेको खोप अन्य मुलुकको भन्द सस्तो पर्ने अनुमान सरकारले गरेको छ ।

भारतवाट पनि त्यस्तै संकेत आएको अधिकारीहरुले बताएका छन् । भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएको बताइएको छ ।भारतमा अक्सफोर्ड, बायोएनटेकलगायत कम्पनी खोप निर्माणमा जुटेका छन्। अरू देशमा उत्पादित खोपको मूल्य १० देखि १५ डलरसम्म पर्ने अवस्थामा भारतमा निर्माण भएको खोप सस्तो पाइने संभावना बढेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले यसको पुष्टि गरेका छन् । तर सरकारले भने सो खोप सर्वसाधरणलाई निशुल्क उपलब्ध गराउने तयारी थालेको हो । पोखरेलले खोप खरिद सम्बन्धी प्रकृयाका बारेमा अन्य मन्त्री र सरोकारवाला निकायसंग छलफल गरेका छन् ।

सो क्रममा उनले भारतमा निर्माण भएको खोप सस्तो पर्ने अनुमान गरेको बताएका छन् । समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भयो। त्यसबाहेक कतिपय निर्णय कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल गर्‍यौं’ एक मन्त्रीले भनेका छन् ।

उक्त छलफलमा गृह, अर्थ, परराष्ट्र, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, पर्यटनमन्त्रीसहित मुख्यसचिव र सचिवहरू सहभागी थिए। त्यस क्रममा विभिन्न देशले निर्माण गरिरहेका खोपको मूल्य, उपलब्धता र सहजताबारे छलफल भएको थियो।

सरकारले अमेरिका, बेलायत, रुस, चीन, अस्ट्रेलिया, भारतलगायत देशमा उत्पादित खोपको मूल्य र उपलब्धताबारे अध्ययन गरिरहेको छ। भारतमा अक्सफोर्डले निर्माण गर्दै गरेको खोप सस्तो पर्ने देखिएको एक मन्त्रीले जानकारी दिए। यद्यपि, यो खोपले मान्यता भने पाइसकेको छैन।