नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको कारण कमानसिंह लामाको निधन

काठमाडौं । कमानसिंह लामाको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंहको इहलीला समाप्त भएको दावी कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेका हुन् ।

कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उहाँहरु बीच कुनै कम्पनीमा गासिँदा लेनदनेको कारोबार थियो । सो कम्पनी कुन हो भन्ने खुलेको छैन ।
लेनदेनमा नारायणकाजीले सुसन कर्माचार्य नामकी महिलालाई अगाडि लगाउनुभएको बुझिन्छ । सुसन र नारायणकाजी अत्यन्त निकट मित्रका रुपमा परिचित हुनुहुन्छ । नारायणकाजीको राजनीतिक यात्रामा सुसनको निकै राम्रो योगदान भएको ठानिन्छ । सुसनले विगतमा पत्रकारिता पनि गर्नुभएको थियो ।

। नारायणकाजी श्रेष्ठले लुटेको रकम नउठाई, पत्नीसँगको ठाकठुक नमिलाई कमानसिंह लामा बित्नुभयो । निकट व्यक्तिहरुका अनुसार कमानसिंहको गुनासो थियो– ‘नारायणकाजीले मेरो जिन्दगी बरबाद बनायो, परिवार उजाड बनायो ।’

अडियो भिडियोबाट के बुझिन्छ भने नारायणकाजीले सुसन मार्फत् पैसा खाइदिएपछि कमानसिंह चकनाचुर हुनभएको थियो । नाराणकाजीले सुसनलाई अगाडि सारेर अढाई करोड खाइदिएपछि कमानसिंहले सहारा लिनुभयो गोप्य रुपमा अडियो भिडियो रेकर्ड गरेर प्रमाण जुटाउने । उहाँ नारायणकाजीसँग लेनदेनको कुरा गर्न जानुभयो । अडियो भिडियो रेकर्ड गर्न लगाउनुभयो । सो अडियो भिडियो सनराइज खबरले प्राप्त गरेको छ । कमानसिंहको परिवार निकटले सनराइज खबरलाई सो अडियो भिडियो उपलब्ध गराएका हुन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीका सहकर्मी कमानसिंह लामालाई कसरी बरबाद बनाउनुभयो ? यो कुरा नेकपाको सचिवालयका आठ जना सदस्यलाई थाहा छ । तर, सचिवालयमा रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुप हुनुहुन्छ । अन्य सदस्यहरु पनि चुप छन् । कमानसिंहलाई नारायणकाजीले गरेको अत्याचार सम्बन्धमा नेकपा सचिवालयका कोही पनि बोल्दैनन् ।

असाध्यै हसिला र हक्की स्वभावका कमानसिंह लामा कोरोनाका कारण बित्नुभयो । नाराणकाजीलाई अनैतिक आचारणको अभियोगमा कारवाही गर्नुपर्छ भनेर उहाँले पार्टी सचिवालयमा एक निवेदन दिनुभएको थियो । त्यो निवेदनको सुनुवाई नहुँदै कमानसिंह बित्नुभयो । जानकारहरुका अनुसार कमानसिंहले प्रमाण स्वरुप केही भिडियो पनि सचिवालयमा दिनुभएको थियो ।

नारायणकाजीले करिब दुई करोड रुपैयाँ खाएको कमानसिंहले आरोप लगाउनुभएको छ । यही रकमका कारण पत्नीसँग उहाँको विवाद भएको पनि बताइन्छ । कान्छी पत्नीसँग मिलेर नारायणकाजीले रकम खाइदिएको दावी कमानसिंहका निकट आफन्तहरुले गरेका छन् ।

अनैतिक सम्बन्ध र अपारदर्शी आर्थिक चलखेलको भण्डाफोर भएपछि नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको छ । उहाँले राजीनामा दिनुपर्छ भनी नेकपाभित्र तथा सार्वजनिक रुपमा व्यापक आवाज उठिरहेको छ ।

तर, नारायणकाजीले पद जोगाउन अभियान थाल्नुभएको छ । उहाँले बिहीबार राति पूर्व जनमोर्चाका नेता कार्यकर्ताहरुको भेला आफ्नो निवासमा बोलाउनुभएको थियो । निकटहरुको भेलामा नारायणकाजीले आफूलाई डुबाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल लागिपरेको बताउनुभएको छ । बादलले आफूलाई मात्र नभएर पूर्व जनमोर्चाका कसैलाई बाँकी नराख्ने पनि नारायणकाजीले बताउनुभएको छ ।

राजीनामाबाट जोगिन नारायणकाजी आज बिहानै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुग्नुभएको छ । स्रोत अनुसार माधवकुमार नेपाल र झलनाथ खनाल पनि प्रचण्ड निवास पुग्नुभएको हो ।

प्रचण्ड निवास निकट स्रोतका अनुसार नारायणकाजी बिहानै प्रचण्डकोमा पुग्नुभएको हो । निवासमा प्रचण्डलाई भेट्न पुगेका कार्यकर्ताहरुलाई बाहिर राखेर प्रचण्ड र नारायणकाजी बीच एक घन्टाभन्दा धेरै एकान्त वार्ता भएको छ । त्यसपछि उहाँहरुको वार्तामा माधव र झलनाथ मिसिनुभएको थियो ।

नैतिकताको प्रश्न उठेपछि नेकपाका नेताहरु शेरबहादुर तामाङ, कृष्णबहादुर महरा र गोकुल बाँकस्कोटाले पदबाट राजीनामा दिनुभएको थियो । उहाँहरु तीनैजनाले सफाई पाइसक्नुभएको छ र शानदार ढंगले राजनीतिमा पुनरागमन पनि गरिसक्नुभएको छ । भिडियो र न्युज साभार सनराइज खबरबाट