ड्युटीवाटै हराएर युवतीसंग होटलको कोठामा फेला परेको डिएसपी निलम्बन

काठमाडौ । ड्युटीवाटै हराएर युवतीसंग होटलको कोठामा फेला परेको भनिएका प्रहरी नायक उपरिक्षण (डिएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उनलाई निलम्बनको सिफारिस गरेको थियो । प्रदेश कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार उनलाई मन्त्रालयले मंसिर १२ गते गत शुक्रबार देखि लागू हुने गरी निलम्बन गरेको हो।

ड्युटिमै रहेका डिएसपी अत्यावश्यक काम परेर खोजी गर्दा भेटिएका थिएनन् । जिल्लामा भएको एउटा दुर्घटना पछि उनको खोजी थालिएको थियो । फेला नपरेपछि प्रहरी परिचालन गरेर खोज्दा उनी युवतीसंग होटलको कोठामा फेला परेको बताइएको थियो ।

प्रहरी आचरणविपरीत काम गरेको भन्दै उनलाई निलम्बन गरिएको छ प्रवक्ताले बताए । डिएसपी चौधरी मंसिर ९ गते राति सम्पर्कविहीन भएका थिए। उनी सम्पर्कविहीन भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक डिएसपी प्रतीक विष्टको नेतृत्वको टोली उनको खोजीमा खटाएको थियो।

उनीमाथि छानविन गर्न प्रदेशका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाको नेतृत्वमा छानविन समिति गठन भएको छ। उक्त समितिमा चार जना सदस्यहरू रहेको एसएसपी सिंहले बताए। उनीमाथि थप अनुसन्धान अघि बढाएको छ। चौधरी इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका इन्चार्ज थिए। त्यस घटनापछि उनलाई प्रदेश कार्यालयमा तानिएको थियो।