ट्रकले ठक्कर दिँदा एउटै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

ट्रकले ठक्कर दिँदा एउटै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन युवाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमति खड्काले बताए।

उपचारका लागि लमही अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको जानकारी पनि डिएसपी खड्काले दिए। ‘म अस्पताल पुग्दा तीनै जना युवाको मृत्यु भइसकेको थियो,’ उनले भने, ‘अहिलेसम्म मृतक तीनै जनाको सनाखत हुन सकेको छैन।’

जिल्ला प्रहरी प्रवक्ता खड्काले मृतकको उमेर २५ देखि ३० वर्ष बीच रहेको अनुमान गरिएको बताए।

पूर्ववाट पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा बेलुका पौने ८ बजेतिर ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि ट्रक पनि सडकमै पल्टिएको छ।

तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। मृतक तीनै जना युवाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।