किताबमा लगाएको १० प्रतिशत कर फिर्ता

काठमाडौँ : पूर्व अर्थमन्त्री युवराज खतिवडाले आयातित किताबमा लगाएको कर अर्थमन्त्री विष्णु पौडेलले हटाएका छन्। पूर्व अर्थमन्त्री खतिवडाले गत आर्थिक वर्षको बजेट ल्याउँदा आयात गरिने किताबमा १० प्रतिशत कर लगाएका थिए।

तर, पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै खतिवडाबाट भएको सो निर्णय उल्ट्याएका हुन्‌। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुस्तक आयातमा लगाएको १० प्रतिशत कर हटाएको हो। विभिन्न क्षेत्रमा कर लादेका कारण खतिवडा निकै अलोकप्रिय भएका थिए। सरकारले किताब आयातमा कर लगाएपछि त्यसको चौतर्फी आलोचना भइरहेको थियो।त्यसो त सरकारका एकपछि अर्को निर्णय आलोचनाको शिकार भएपछि फिर्ता लिने प्रचलनजस्तै बनेको छ। किताब आयात करको निर्णय मात्रै नभएर सरकारको धेरैजसो निर्णयहरू विवादमा फस्ने गरेका छन्।

अध्यादेश, नेपाल-भारत सीमा समस्यादेखि लिएर विश्वभरी फैलिएको कोरोना महामारी नियन्त्रणमा समेत चौतर्फि आलोचनाको भागिदार भइरह्यो। किताबमा लगाएको कर मात्रै नभएर कोरोना परीक्षण र उपचारलाई समेत नि:शुल्क गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

सरकारको कोरोनाको उपचार नि:शुल्क गर्दै आएपनि केही साताअघि मात्रै सर्वोच्चको निर्णयलाई समेत लत्याएर कोरोनाको परीक्षण र उपचारमा शुल्क लिने निर्णय गरेको थियो। त्यसको चौतर्फी विरोध भएपछि सरकारले आफ्नै निर्णय उल्ट्याएको छ। तर, सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय भएपनि निजी अस्पतालका हकमा निर्णय गरेको छैन।