पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित

पाकिस्तान र जिम्बावेबीचको तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टिम पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गरेको छ।शनिबार रावलपिण्डीमा भएको खेलमा जिम्बावेले दिएको १५७ रनको लक्ष्य पाकिस्तानले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

पाकिस्तानको जितमा कप्तान बाबर अजामले ८२ रनको योगदान दिए। उनले ५५ बलमा ९ चौका र १ छक्का हिर्काए। मोहमद हफिजले ३६ रन जोडे।

बलिङमा जिम्बावेका ब्लेसिङ मुजरबानीले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ६ विकेटको क्षतिमा १५६ रन जोड्यो।

जिम्बावेका लागि वेस्ले माधवेरेले नटआउट ७० रन जोडे। उनले ४८ बलमा ९ चौका र १ छक्का हिर्काए। सिन विलियम्सले २५ रन बटुल्दा ब्रेन्डन टेलरले २० रन र इल्टन चिगुम्बुराले २१ रन बनाए।बलिङमा पाकिस्तानका हरिस रउफ र वाहेब रियाजले २-२ विकेट लिए।