अध्यक्ष पदबाट ओलीले हैन प्रचण्डले राजिनामा दिनुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजिनामा माग गर्नुभएको छ । पार्टीको शीर्ष नेतृत्व बीच विवाद चुलिइरहँदा मण्डलको सो अभिव्यक्ति आएको हो ।

सनराइज खबरसँग कुरा गर्दै मण्डलले भन्नुभयो, ‘केपी महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो, उहाँको राजिनामा माग्ने हैसियत प्रचण्ड र स्थायी कमिटीले कसरी राख्यो, यस्ता अवैध माग राख्ने प्रचण्डले अध्यक्ष पदबाट राजिनामा दिनुपर्छ, माधव नेपाल र झलनाथलाई वरिष्ठ नेताको पगरी कसले गुताएको हो ? ती दुईजनाले पनि राजिनामा दिनुपर्छ ।’

नेकपा स्थायी कमिटी बैठकको औचित्य समेत सकिएको मण्डलले बताउनुभयो । ‘पार्टीको अन्तरिम विधानले गरेको दुई अध्यक्षको व्यवस्थालाई कुल्चिँदै एउटा अध्यक्षले अर्को अध्यक्षको राजिनामा मागेपछि त्यो बैठकको के औचित्य हुन्छ र बैठक बसिरहने ?’, मण्डलले प्रश्न गर्नुभयो । अब स्थायी कमिटी बैठक पार्टी र मुलुकको हितमा नरहेको उहाँले बताउनुभयो ।

उहाँले अहिले सरकारको विरोध भारतीयको नाङ्गो नाचको पराकाष्ट भएको बताउनुभयो । ‘जनता स्वाभिमानी छन् तर यहाँका नेता भारतीय दलाल र नोकरसायी भए’, मण्डलले भन्नुभयो । नेपालका नेतालाई भारतले गोठाला र दास जस्तो ठानेर प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।अहिले प्रचण्ड लगायतले बेमौसमी बाजा बजाएको उहाँको आरोप छ ।

‘यता सिमाविवाद छ, उता दार्चुला जिल्ला प्रशासनलाई भारतले नेपाली भूमिमै मान्छे छिर्न नदिनु भनेर पत्र पठाएको छ, यता पट्टी उनीहरुको ध्यान छैन, खाली केपी ओलीको राजिनामा मागेर बसेका छन्’, मण्डलले गुनासो गर्नुभयो ।अहिले प्रदेश नं २ डुबानमा परेको र कोरोना बढेको बढेकै गरेको अवस्थामा बैठकमा अल्मलिने बेला नभएको उहाँले बताउनुभयो । राहत र उद्दारमा खट्नु पर्ने बेलामा सरकारलाई घेराबन्दीमा पारेर के तमासा हो यो ?’ मण्डलले प्रश्न गर्नुभयो ।