भूमिगत समूह सक्रिय हुन थाले-गृहमन्त्री रामबहादुर

काठमाडौं- संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूह सक्रिय हुन थालेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। ६५ औं प्रहरी दिवशको अवसरमा शुक्रबार हेडक्वाटरमा सम्बोधन गर्दै गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग गर्ने वातावरणमा बाधा पैदा गर्ने कोशिस गरिरहेको बताएका हुन्।

यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा कतै पनि सम्झौता नगर्न गृहमन्त्री थापाले निर्देशन दिए।

‘अपराध र अपराधीको विषयमा मभन्दा यहाँहरु नै धेरै जानकार र व्यवसायिक हुनुहुन्छ। तसर्थ अपराधको प्रवृति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नुस्, यहाँहरुलाई मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराइने वचन दिन चाहन्छु’, गृहमन्त्री थापाले भने।

नेपाल प्रहरीका हजारौं राम्रा कामलाई नजरअन्दाज गर्दै औंलामा गन्न सकिने त्रुटीलाई मात्रै प्रचार प्रसार गरिएको गुनासो गर्दै गृहमन्त्री बादलले प्रहरीलाई तेजबधभन्दा पनि रचनात्मक सुझाव र पृष्ठपोषण आवश्यक रहेको बताए।

‘दोष जति अरुलाई थुपार्ने र सदैव नकारात्मक, आलोचनात्मक सोचबाट मात्र निर्देशित सामाजिक परिवेशमा नेपाल प्रहरीका सकल दर्जाले जुन निर्भिकता र दृढताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्, त्यो प्रशंसनीय छ’, उनले भने, ‘नराम्रोलाई पटक–पटक नराम्रो भन्न नहिचकिचाउने हाम्रो समाज राम्रोलाई प्रशंसा गर्न शब्द खर्च गर्न किन कन्जुस्याई गर्छ?’

अपराधको घटना घट्दा हल्ला गर्ने समाज किन त्यही घटनाको सफल अनुसन्धानबाट प्रहरीलाई स्यावासी कन्जुस्याई गर्छ भन्दै थापाले प्रश्न गरे। समाजमा जे छ प्रहरीमा त्यही देखिने भन्दै त्यसैले प्रहरीमा वा देशको संरचनामा परिवर्तन चाहने समाजले आफ्नो सोचमा परिवर्तन ल्याउनु पर्ने बताए।