अवैध बाटो हुँदै ल्याइएका ६४ वटा खसी बरामद

नेपालगञ्ज – कञ्चनपुरको पुनर्बास नाकाबाट भित्रिएको आशंकामा बाँके प्रहरीले ६४ वटा खसी बरामद गरेको छ । ना ७ ख ८९९८ नम्बरको ट्रकमा राखेर काठमाडौं लैजादै गरेको खसीलाई कोहलपुर प्रहरीले चप्परगौडी चेकप्वाइन्टबाट शुक्रबार राती बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरले काठमाडौं लैजादै गरिएको खसीको ‘वैधानिकता’बारेमा खोजेको कागजपत्र नभेटाएपछि कारबाही प्रक्रिया अघि बढाएको छ । खसी मालिकसँग भेटेनरीको कागजमात्रै थियो । त्यसमा खसी स्वस्थ छन् भन्ने लेखिएको थियो । कहाँबाट ल्याइएको, कहाँ लैजाने भन्ने कागजपत्र थिएनन् ।

कोहलपुर प्रहरीका मुद्दाफाँट इन्चार्ज सुरेन्द्र पन्तले वैधानिकताको कागजपत्र नदेखिएपछि कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको जानकारी दिए । प्रहरीले भारतीय खसी कञ्चनपुरको पुनर्बास नाकाबाट भित्र्याइएको आशंका गरेको छ । प्रति खसी आठ हजारको मूल्य कायम गरेर प्रहरीले भन्सार पठाएको छ ।

नजिकिदो दशैँमा खसीको माग स्वाभाविक रुपमा बढ्छ तर भारतबाट खसी ल्याउन सरकारले त्यहाँको क्वारेन्टाइनको पत्र अनिवार्य गरिदिएपछि नेपालगञ्ज लगायतका नाकाबाट खसी भित्रिएका छैनन् । चोर बाटोबाट भित्रिएका खसीलाई बेलाबेलामा प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्